एनआरएनलाई रमाइलो चुनावी घर नबनाईयोस, एनआरएनमा कसैले पनि हार्दैन्न – विश्वास दीप तिगेला

गैर आवासिय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलन तथा अधिवेशनमा सहभागी हुन नेपाल बाहिर रहदै आएका हजारौ नेपालीहरु अहिले काठमाडौंमा जम्मा भएका छन् ।

भेला भएका नेपालीहरु सम्मेलनको वहानामा परिवार तथा नातागोता संग दशैं मनाउन, साथीभाई भेटन, ब्यवहार मिलाउन ब्यस्त छन् । र, धेरै जनाले तिहार पनि मनाउनेछन् । उसो त नेपालीहरुको महान चार्ड भनेकै चुनाव हो । किन भने नेपालीहरुमा चुनाव भने पछि सबैभन्दा धेरै खुसि, हर्सोउल्लास र उमङ्ग आउने गर्दछ । त्यहि हर्सोउल्लासमा एनआरएनहरु काठमाडौंमा रमाई रहेका छन् । संसदीय निर्वाचन, स्थानीय निर्वाचनमा भोट गर्न नपाएकाले त्यो तिर्सना मेटदैछन भने कतिले भोटको मज्जा दोहरयाउदैछन् ।

प्रत्येक दुईदुई बर्षमा आउने भेटघाटको अवसर, राजनैतिक लबिङ र भेटघाट पनि उत्तिकै रमाईलो छ । विश्वभरका ८० मुलुकबाट आउने मित्रहरु संग मित्रताको नाता सम्बन्ध नविकरण हुनुको पनि बेग्लै महत्व छ । सम्मेलनमा अति उच्च तहका सेसनहरुमा भने हुन्छन ती सेसनहरुमा सहभागी भएर फाइदा लिनेहरु तुलनात्मक रुपले कमि हुनेछन । यद्यपी दुईदुई बर्षमा हुने यस्ता सम्मेलनले नेपाल सरकार र देश बाहिर रहेका नेपालीहरु बीच जोड्ने सेतुको काम गरिरहेका छन् ।

एनआरएनको विश्व सम्मेलनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले केही सम्मेलन बाहेक प्रायः सम्मेलनहरुमा ५ देखि २५ लाख सम्म अनुदान दिने गरेको इतिहास पनि छ । उद्योग तथा वाणिज्य महासङघ लगायतले सहयोग गर्ने गरेको कुरालाई हेर्ने हो भने यो सम्मेलन अर्धसरकारी आयोजना मान्न सकिन्छ त्यति मात्र होइन यो एनआरएन संगठन स्वयं नै अर्धसरकारी संगठन भन्दा फरक पर्दैन । एनआरएन सधै सरकारको पक्षमा र सरकार एनआरएनको पक्षमा काम गरेको प्रष्ट छ । यो सकारात्मक पाटो पनि हो । यहि नवौं सम्मेलन समेत एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले अक्टोबर १३ देखि १५ मा गर्ने भनी निर्णय गरेको थियो । त्यसलाई परराष्ट्र मन्त्रालयले दुईदिन पछाडि धकेली दियो । यसले पनि प्रष्ट बनाउछ नेपाल सरकार र एनआरएनको सहकार्य । र, यो सम्मेलनको उद्घाटन शत्रमा राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र बन्द शत्रमा सरकार प्रमुख सम्माननीय प्रधानमन्त्री आउनु हुनेछ । धेरै नेता तथा उद्योगीहरु त सहभागी हुने नै छन् ।

एनआरएनले स्थापना भएको करिब १६ बर्षको दौडानमा धेरै उपलब्धीहरु हासिल गरेको जगजाहेरै छ । यद्यपी धेरै गर्न बाँकी पनि छ । विशेषतः संस्था दर्ता, संविधानमा गैरआवासिय नागरिकताको ब्यवस्था, विभिन्न मुलुकमा एनआरएनको आवाज र दबाबमा दुतावासहरुको स्थापना, विदेशमा आपतविपदमा परेकालाई उद्धार ब्यवस्थापन, सशक्त र सक्रिय संजाल निर्माणका कुरा यसका नीतिगत उपलब्धिहरु हुन भने महाभूकम्प २०१५ का पीडितहरुको निम्ति गोर्खाको लाप्राकमा ५७३ वटा घर करिब ५० करोडको लागतमा निर्माण, लगभग २५ करोडको लगानीमा काठमाडौंको शंखमुल पार्क निर्माण, करिब १३ करोडमा जग्गा खरिद गरेर अन्दाजी १९ करोडको लगानीमा बालुटारमा एनआरएन केन्द्रीय कार्यालय भवनको निर्माणकार्य सम्पन्न, करिब एक दर्जन हाइड्रोपावर निर्माण सम्पन्न आदि भौतिक संरचनागत उपलब्धीहरु हुन । भूकम्पको बेला उद्धार गर्न, नाकाबन्दी बखत राहत उपलब्ध गराउनु, असाहय तथा विपतिमा परेकाहरुलाई असख्य च्यारिटी मार्फत सहयोग गर्नु आदि चाहि एनआरएनबाट गाँउ समाजको मनजित्ने कार्यहरु हुन । त्यस बाहेक एनआरएनले नेपाल सरकार, राजनैतिक पार्टी र नेताहरु संग लबिङ गर्ने, विदेशका समाज र सरकार संग लबिङ गर्ने, लगानी गर्ने, विदेशी पर्यटक भित्रयाउने, विदेशमा विशेष क्षेत्रमा योग्यता हासिल गरेका दक्ष जनशक्ति उत्पादन आदि एनआरएनको मेरुदण्ड हुन ।

एनआरएनले धेरै उपलब्धीहरु हासिल गरेकोमा दुईमत छैन तर एनआरएन भित्रै धेरै बिकृति र बिसंगतिहरु पनि छन् । संगठन ब्यक्तिले होइन विधिले चल्नु पर्दछ तर एनआरएनमा ब्यक्तिको प्रभाव पनि धेरै पर्ने गरेको छ । भाषण र आसनमा अघिअघि तर आर्थिक र समयको योगदान गर्नेबेला तर्कने रोग सबैभन्दा ठूलो छ । आर्थिक सहयोगको घोषणा गर्ने र दिने बेलामा आलटाल गर्ने वा नदिने पनि अर्को रोग हो । एनआरएन कोषको पारदर्शिता, कार्यालयको सचिवालय ब्यवस्थापनको पारदर्शिता, बजेट विनियोजको लापर्वाही यसको सबैभन्दा खराब पक्षहरु हुन । त्यति मात्र होइन एनआरएन व्राण्डलाई प्रयोग गरेर ब्यक्तिले आफ्नो ब्यवसायिक कमाई गर्ने अवसर पनि लिएका छन् । कतिले बैंक स्थापना गरि संस्थागत गरे, कतिले इन्भेष्टमेन्ट कम्पनी संस्थागत बनाए आदिइत्यादी । तर त्यस्ता अवसर अहिले साँघुरिन्दो छ ।

एनआरएनमा यावत समस्याहरु आउनुको पछाडी नेतृत्व गर्नेहरुमा अनुभवको कमि हुनु मुख्य कारण हो भने भौगोलिक रुपमा टाढा रहेर नेतृत्व गर्नुपर्ने बाँध्यता पनि अर्को कारण हो । उसो त नेतृत्व छनौटको प्रकृया र राजनैतिक पार्टी केन्द्रीत निर्वाचनको बिकृतिले एनआरएन अब कति अगाडि बढ्न सक्ला भनेर धेरैले चिन्ता ब्यक्त पनि गर्ने गरेका छन् । नाम र प्रतिष्ठाकै निम्ति मात्र यत्रो बिघ्न खर्च गरेर चुनाव लडनुलाई धेरैले रोचक मान्ने गरेका छन् । हुन त निश्चित केही ब्यक्तिहरुको निम्ति एनआरएन दुहुनो गाई भएको पनि आरोप लाग्ने गरेको छ । वास्तवमा एनआरएन नेतृत्व, संस्थाबाट लिन होइन संस्थालाई दिन आउने हुन । तर निर्वाचन प्रकृयाले धेरै एनआरएन अभियन्तालाई थला पार्ने निश्चित छ ।

एनआरएनमा आबद्ध साथीहरुलाई सिद्धान्ततः पूर्ण कालिन एनआरएनको नेता तथा कार्यकर्ता नबन्न आग्रह छ । तपाईको आफ्नो घर र ब्यवसाय सफल भएमा मात्र एनआरएन पनि सफल हुन्छ । एनआरएनको पूर्णकालिन हुदा घर र ब्यापार बिग्रिए एनआरएन स्वतः कमजोर हुन्छ । जो ब्यस्त र सफल हुनुहुन्छ त्यस्ताले एनआरएनको नेतृत्व गर्नुपर्ने पनि चर्चा हुने गरेको छ । एनआरएन एक स्थायी स्वरुपको सामाजिक संस्था भएकोले सहमतिमा नेतृत्व चयन गर्न र नेतृत्वको निम्ति पालो यसपटक नआए अर्को पटक आउने कुरा सुझाउदै चुनावी नेतृत्व होइन सहमतिय नेतृत्वमा जोड गर्ने गर्दछ । एनआरएनलाई चुनावको निम्ति रमाईलोघर नबनाउन पनि सच्चा एनआरएनकर्मीहरुको आग्रह छ ।

एनआरएनले मूलभूतरुपमा सच्चाउनु पर्ने कुरा भनेकै नेतृत्व चयन प्रकृयाको चुनावी तौरतरिका हो । विश्वको जुनसुकै मुलुकमा साधारण सदस्य बनेको एक सदस्य वापत एनआरएन काठमाडौं अफिसमा अमेरिकी ५ डलर बुझाउनु पर्दछ । सम्मेलन तथा अधिवेशनमा सहभागी हुन आउने प्रतिब्यक्तिले नेरु २० हजार र गल्फ तथा मलेशिया ईतरका प्रतिनिधिले नेरु १० हजार रुपैया प्रवेश शुल्क बुझाउनु पर्दछ । सम्मेलन तथा अधिवेशनमा अनुमानित २५ सय सहभागी हुनेछन । त्यस्तै लगभग ४ दर्जनको संख्यामा उम्मेदवार बन्नेहरुले प्रतिब्यक्ति नेरु २ लाख देखि १० लाख सम्म उम्मेदवारी शुल्क तिर्नु पर्दछ । त्यसैले पनि अघिल्लो विश्व सम्मेलनबाट लगभग ३ करोड रुपैया फाइदा गरेको थियो । तसर्थ, विश्व सम्मेलन आर्थिक उपार्जनको स्रोत र निरन्तर आकर्षणको केन्द्रविन्दु हुनुलाई सकारात्मक मान्न सकिन्छ । तथापी नेतृत्व चयन प्रणालीले एनआरएनलाई दीर्घ कालिन असर गर्दैछ । त्यति मात्र होइन एनआरएनको चुनाव ताका होटलको कोठाहरु बुक गरिदिने, फ्लाइटको टिकट किनीदिने, नगद खर्च गर्ने लगायतका बेतिथिहरु अब सहिय छैन । त्यस्तैगरि राजनैतिक पार्टी केन्द्रीत लबिङ गर्दै पार्टीलाई ठूलो रकम सहयोग दिनुपर्ने संस्कार झनै निन्दनीय छ ।

एनआरएनले संस्थागत तथा ब्यवस्थापकीय दृष्टिकोणबाट पहिलो चरण पुरा गरेको छ । त्यसैले अब यसको निर्वाचन पद्धति पुरै परिवर्तन गर्न आवश्यक छ । सदस्य शुल्क, सम्मेलनमा सहभागी प्रवेश शुल्क, उम्मेदवारी शुल्क लगायतमा घटाउन सकिने अवस्था बनेको छ र घटाउनु पर्दछ । चुनाउमा डिस्ट्रयाटिव ब्यक्तिहरुलाई सन्तुलनमा राख्नको निम्ति ठूलो उम्मेदवारी शुल्क तोकिनुको सट्टा अन्य विधि अपनाउन आवश्यक छ । अत्यधिक सहभागीहरु भेला गर्नेभन्दा लगानी र विदेशको पद्धति, विदेशमा रहेका नेपालीहरुको पीडा वेदना र समस्याहरुको समाधान बारे जानकारी आदानप्रदानलाई प्रमुख लक्ष्य बनाईनु पर्दछ । एनआरएन सचिवालयको अनावश्यक खर्चालु ब्यवस्थापनलाई मितब्ययी र प्रभावकारी बनाइनु पर्दछ ।

अन्तमा, एनआरएनले विभिन्न भिमकाय योजनाहरु पुरा गर्दै यहा सम्म आईपुगेकोले अब दोस्रो चरण संस्थागत र सुधारको उद्घोष गर्दै विश्व सम्मेलन सम्पन्न हुनु पर्दछ । एनआरएन यस्तो पवित्र संस्था हो, यसको नेतृत्वको लागि चुनाव लड्नेहरु सबैले आआफ्नो ठाँउमा विजय हासिल गर्दछन् । एनआरएनमा कोहि पनि पराजय हुदैनन् । सबै उम्मेदवार र मतदाताहरु आज पनि एकै परिवार र भोली पनि एकै परिवार रहनेछन । एनआरएनको भलोको निम्ति सबैले त्याग गर्न सकौं । विकृति विसंगतिलाई टाढा राखौ ।
जय एनआरएन ।

– विश्वास दीप तिगेला, [email protected]
(लेखक दुई कार्यकाल पूर्व आईसीसी, युके हुन ।)
१४ अक्टोबर २०१९ ।