अर्कोथरी पत्रकार व्यवसायिक धर्मलाई विर्षिएर आस्था, समूह वा व्यक्तिको प्रचार यन्त्र बन्ने गरेका छन् – अध्यक्ष नरेश खपाङ्गी

नेपालीसमाचार डटकम अनलाईनले यस बर्ष १० औं बर्षगाँठ मनाउनेक्रममा पत्रकारिता क्षेत्रका ब्यक्तित्वहरु संगको अन्तर्वाता तथा कुराकानीलाई महत्वका साथ प्रकाशन गरिरहेको छ । यसै शिलशिलामा नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष श्री नरेश खपाङ्गी संग गरिएको विशेष अन्तर्वार्ताः

१. अध्यक्षज्यू नेपाल पत्रकार महासंघ युकेको बारेमा संक्षिप्तमा केही भनिदिनु हुन्छ कि ?
नेपाल पत्रकार महासंघ युके नेपाल पत्रकार महासंघको युकेस्थित शाखा हो । नेपाल पत्रकार महासंघका बारेमा भन्नुपर्दा यो नेपाली पत्रकारहरु जो नेपालभित्र र बाहिर कार्यरत छन् उनीहरुको पेशागत संस्था हो । यसको केन्द्रीय कार्यालय काठमाडौँमा छ र यसमा हाल १३ हजारभन्दा बढी पत्रकारहरु आवद्ध छन् । नेपालभित्र १०० भन्दा बढी प्रदेश, जिल्ला, सञ्चार प्रतिष्ठान, एसोसिएट शाखाहरु छन् भने प्रवासमा पनि सातवटा शाखा छन् । यो नेपाली पत्रकारहरुको पेशागत हक, अधिकार रक्षा र व्यावसायिक विकासको उद्देश्य बोकेको संस्था हो ।

युकेको सन्दर्भमा भन्नुपर्दा हाल यस शाखामा ९६ पत्रकारहरु आवद्ध छन् । सन् २०११ मा युकेमा यो शाखा स्थापना भएको हो । शाखा स्थापनायता यसले पत्रकारहरुलाई संगठित गर्ने, क्षमता विकासका लागि तालिम, अनुभव आदानप्रदान गर्ने, नेपालमा आपतमा परेका पत्रकारहरुलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ । यस्तै, युकेमा रहेका नेपाली समुदायसित मिलेर पत्रकारिता र पत्रकारहरुका बारेमा जानकारी दिने कार्य गर्दै आएको छ ।

२. युकेमा पत्रकार महासङ्घको आवश्यकता किन छ ?
अहिले नेपालीहरुको बसोबास पहिलेजस्तो नेपालभित्र मात्र सीमित छैन । विश्वका कुनाकुनामा नेपालीहरु पेशा, व्यवसाय, अध्ययनका सिलसिलामा पुगेका छन् । युकेमा त नेपालीहरुको बसोबास हजारौँको संख्यामा छ । यहाँ नेपाली समाजको उपस्थिति बलियो छ । यसरी समाज बन्नेक्रममा यहाँ धेरै अवयवहरु नेपाली नै चाहिए । पत्रिका चाहियो, टेलिभिजन चाहियो, रेडियो चाहियो । पसल चाहियो, रेष्टुरेन्टहरु चाहिए । यसरी नेपाली सञ्चारमाध्यमहरु बेलायतमा खुले । यसमा काम गर्न पत्रकारहरु आए । उनीहरुको हक अधिकार सुरक्षित गर्न, पेशागत आचारसंहिता कायम गर्न, ज्ञान, सीप, क्षमता अभिवृद्धि विकास र विस्तार गर्न र समाजको अपेक्षा पूरा गर्नका लागि महासंघ चाहिएको हो ।

३. युकेमा रहेका नेपाली पत्रकारहरु कति छन् ? र कुन गुणस्तरका छन् ?
युकेमा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको संख्या ९६ जना छ । महासंघमा आवद्धबाहेक पनि पत्रकारहरु कार्यरत छन् । जहाँसम्म उनीहरुको गुणस्तरको कुरा छ यसमा विविधता छ । कोही नेपालमै ठूला मिडियामा बर्षौँ काम गरेर आएका छन् । कोही अन्तर्राष्ट्रिय मिडियामा कार्यरत छन् भने कोही युकेको स्थानीय मिडिया र कोही स्वतन्त्र रुपले पत्रकारिता गरिरहेका छन् । समग्रमा भन्नुपर्दा उहाँहरुको स्तर सिकारुदेखि विज्ञसम्म छ भन्दा फरक नपर्ला ।

४. युकेमा रहेका नेपाली पत्रकारहरुबाट युकेको नेपाली समाजले के पायो र स्थानीय अंग्रेज समाजले के पाएका छन ?
युकेमा रहेका नेपाली समाजलाई सत्यतथ्यमा आधारित, वस्तुनिष्ठ समाचार प्रवाह गर्ने युकेमा कार्यरत नेपाली पत्रकारहरुको मूल दायित्व हो । समाजलाई सही सूचना दिने, वास्तविक विश्लेषण केलाउने काम पनि नेपाली पत्रकारहरुको हो । यसबाहेक यहाँका नेपालीहरुको मूलथलो नेपालसित जोड्ने काम पनि यहाँका नेपाली पत्रकारहरुको हो । यही मूल कार्यमा यहाँका नेपाली पत्रकारहरुले काम गरिरहेको म पाउँछु । जहाँसम्म यहाँका रैथाने समाजसितको कुरा छ यहाँका पत्रकारहरुले आफ्ना मिडियाका माध्यमबाट यहाँको स्थानीय/राष्ट्रिय घटनाहरु, नियम कानुनहरु, रहनसहन, सँस्कृतिका बारेमा नेपाली समुदायलाई जानकारी दिने गरेकाले रैथाने समाजले पनि महत्वपूर्ण फाइदा लिएको छ । जस्तै, आपसी सद्भाव, सम्मान र समाजमा अन्तरघुलनमा नेपाली पत्रकारहरुले महत्वपूर्ण सहयोग गरेका छन् ।

५. युकेमा रहेर पत्रकार गर्नेहरुको भविश्य कस्तो छ ?
युकेमा रहेर नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरुको भविष्य त्यति फराकिलो छैन । किनभने यहाँको पहिलो र दोस्रो पुस्तासम्म मात्र त्यसको आयु देखिन्छ । त्यसपछि आउने नयाँपुस्ता जो अहिले युकेमै हुर्कँदै छन्, युकेमै जन्मेका छन् उनीहरुलाई नेपाली भाषामा गाँस्नसक्नु ठूलो चुनौती छ । तथापि नेपालमा प्रधान कार्यालय रहेका सञ्चारमाध्यममा यहाँबाट प्रतिनिधि बनेर काम गर्नसक्ने सम्भावना भने त्यतिबेला पनि जीवितै रहन्छ तर रोजीरोटीको दृष्टिकोणबाट हेर्दा नेपाली समुदाय र नेपाली भाषामै केन्द्रीत रहेर पत्रकारिता गरेर टिक्नसक्ने अवस्था अहिले पनि छैन र भोलि झन् हुँदैन । तर आउने पुस्तालाई समेटेर अंग्रेजी माध्यमबाट मिडिया चलाउन सक्ने हो भने त्यसमा चाहिँ नेपाली भाषाका मिडियाभन्दा बलियो सम्भावना देख्छु ।

६. युके पत्रकार महासङ्घले १८ लाखको पुरस्कार कोष र अक्षयकोष कसरी ब्यवस्थापन गरिरहेको छ ?
नेपाल पत्रकार महासंघ युकेले गैरआवासीय नेपाली संघ युके सित मिलेर सन् २०१३ मा एक अक्षय कोष बनाएको छ । एउटा च्यारिटी कार्यक्रमबाट संकलित मुनाफावापतको १६ लाख रुपियाँ त्यसमा राखिएको थियो । त्यो रकम एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको मातहतमा बैँक खातामा राखिएको छ र त्यसैबाट हरेक दुई वर्षमा हुने विश्व सम्मेलनमा नेपाल भित्रबाट एक जना र नेपाल बाहिरबाट एक जनालाई एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार दिइँदै आएको छ । यसमा महासंघको भूमिका एनआरएन युकेसित साझेदार मात्र छ ।

७. युकेमा रहेको नेपाल पत्रकार महासङ्घ अन्य मुलुकको भन्दा के केही भिन्न धरातलमा छ ?
खासगरी नेपाल पत्रकार महासंघका शाखा रहेका अन्य देशको तुलनामा युके शाखा अलि फरक छ । महासंघका शाखा रहेका अधिकांश देशमा पत्रकारहरुको बसोबास अल्पकालिन मात्र रहेको छ । जस्तो कतार, युएइ, जापान, कोरिया, कुवेतमा नेपाली पत्रकारहरु रोजगारी र व्यापारका सिलसिलामा पुगेका छन् उनीहरुको बसाइ त्यहाँ अस्थायी प्रकृतिको छ । तर युके र युरोप मात्र त्यस्ता शाखा भएका क्षेत्र हुन् जहाँ पत्रकारहरुको बसाइ स्थायी किसिमको छ । त्यतिमात्र होइन हाम्रा पाठक, स्रोता, दर्शकको अवस्था पनि त्यस्तै छ । अमेरिका र अष्ट्रेलियामा पत्रकारहरु स्थायी बसोबासका क्रममा पुगेका छन् तर उनीहरुले महासंघको शाखाभन्दा पनि स्वतन्त्र हैसियतको संस्था खोलेर महासंघसित आवद्धता मात्र लिएका छन् । यसबाहेक युकेमात्र यस्तो मुलुक हो जहाँ गोरखा सेवा पृष्ठभूमि भएका नेपालीहरुको अत्यधिक बसोबास छ । यस हिसाबले युके शाखा अन्य शाखाभन्दा भिन्न रहेको हामीलाई लाग्छ ।

८. पत्रकार महासङ्घको भावी कार्यक्रमहरु के के छन् ?
खासगरी युकेस्थित नेपाली समुदायसित हार्दिक सम्बन्ध बनाउने महासंघको कार्यक्रम छ । यसक्रममा गत डिसेम्बरमा पूर्वी लण्डनमा एक कार्यक्रम गरियो भने अब निकट भविष्यमा नै मिडल्याण्ड र केन्टमा यस्तो कार्यक्रम आयोजना हुँदैछ । यसबाहेक युकेका अन्य भागमा पनि यस्ता अन्तरक्रियालाई लगिने छ । यसो गर्नुका पछाडि केही कारण छन् । पहिलो महासंघ के हो, यसले के गर्छ र के गरिरहेको छ भन्ने बारेमा जानकारी हुनेछ । दोस्रो सम्बन्धित इलाकामा नेपालीहरुको अवस्था, समस्या, प्रगतिका बारेमा पत्रकारहरुलाई जानकारी हुनेछ । समाजका सरोकारवाला र पत्रकारहरुबीच प्रत्यक्ष चिनजान भएपछि आपसी सम्बन्ध विकास र विश्वासको वातावरण बन्नेछ । यसले भविष्यमा दुवै पक्षलाई मद्दत पुग्नेछ ।

यसबाहेक महासंघका सदस्यहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि कार्यक्रम भइरहेका छन् र यसलाई निरन्तर राखिने छ । महासंघका नियमित कार्यक्रमहरुलाई पनि अघि बढाउँदै लगिने छ ।

९. पत्रकार महासङ्घले यहाँको नेपाली समाज र पत्रकारिता पढ्ने विद्यार्थीहरुको निम्ति कस्तो भूमिका खेल्ने गरेको छ ?
महासंघले यहाँको नेपाली समाजसित निकट रही नेपाली समाजको विकास र उन्नतिका लागि आफ्नो क्षेत्रबाट गर्नपर्ने कार्यहरु अगाडि बढाइरहेको छ । यहाँको नेपाली दुताबास तथा अन्य नेपाली संस्थाहरुसित मिलेर नेपाली भाषासाहित्य, कला, सँस्कृतिको जगेर्ना, नेपालको प्रबद्र्धनमा काम गरिहेको छ । समाजमा भएका असल कार्य, उदाहरणीय कार्यको प्रचारप्रसार गरी सकारात्मक सन्देश दिने, कतिपय सम्वेदनशील कुरामा जनचेतना जगाउने र नराम्रा घटना, प्रवृत्तिमा भविष्यमा त्यस्तो नदोहोरियोस् भनेर आलोचना गर्ने काम हामी गरिरहेका छौँ । जहाँसम्म पत्रकारिता पढ्ने विद्यार्थीको सवाल छ हालसम्म हामीकहाँ त्यस्तो अपील पनि आएको छैन र हामी आफैँले पनि पहल गरेर त्यस्ता कार्यक्रम गर्न पाएका छैनौँ । तर हाम्रो भूमिका भनेको उनीहरुलाई प्रोत्साहन गर्ने र उनीहरुबाट हामीले पनि ज्ञान, अनुभव आदानप्रदान गर्नेमा जरुर रहने छ ।

१०. पत्रकार महासङ्घको कुनै अन्य पत्रकारिता जनित संघसंस्थाहरु संग पनि कुनै सम्पर्क तथा सम्बन्ध छ ?
नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्य भएकाले हामी पनि सो संस्थाको स्वत सदस्य रहेका छौँ । यसबाहेक अन्य संस्थासित हाम्रो सम्बन्ध छैन । अर्को कुरा हामी नेपाल पत्रकार महासंघको शाखा भएकाले स्वतन्त्र संस्थाले झैँ अन्य कुनै पनि संस्थाको सदस्यता वा आवद्धता लिन सजिलो छैन ।

११. पत्रकारितामा हुनुपर्ने मुख्य कुरा संक्षेपमा के के हुन् ?
पत्रकारिताले मुख्यत तीन काम गर्छ पहिलो सूचना दिने, दोस्रो मनोरञ्जन प्रदान गर्ने र तेस्रो अभिप्रेरणा दिने । यसक्रममा अहिले टड्कारो देखिएको भनेको सत्यतथ्य सूचना प्रवाह गर्नु नै महत्वपूर्ण छ किनभने एकाथरी पत्रकारहरु छिटो सूचना दिने दौडमा लागेका छन् । जसले गर्दा वास्तविक सूचना नभई भ्रमपूर्ण सूचनाहरु सम्प्रेषित भइरहेका छन् । अर्कोथरी पत्रकारहरु पत्रकारिताको व्यावसायिक धर्म नबुझी कुनै आस्था, कुनै समूह वा व्यक्ति विशेषको प्रचार यन्त्र बन्ने गरेका छन् । समाचार सम्प्रेषण गर्दा पत्रकारिताको आधारभूत कुरा एबीसी (एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी) लाई मात्र अनिवार्य पालना गर्न सकियो भने समाजले वास्तविक सूचना पाउने छ ।

१२. अन्तमा ?
अन्यमा नेपाली समाचार डटकमको दशौँ वार्षिकोत्सवका अवसरमा यसको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।