स्थानीय

स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छानो

दमौली (तनहुँ), १ चैत : हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका–७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सकिएपछि चन्दा दातालाई सम्मान गरिएको छ ।

चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाएर चन्दा दातालाई सम्मान गरिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष शम्शेरबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग चन्दा सङ्कलन गरिएको थियो । मन्दिरमा तामाको छानो छाउन करिब रु २१ लाख चन्दा सङ्कलन भएको थियो । त्यसमध्ये रु २० लाख खर्च भएको कुँवरले जानकारी दिनुभयो । “मन्दिरलाई धार्मिकस्थल बनाउने उद्देश्यले चन्दा सङ्कलन अभियान चलाएका थियौँ, क्यामिन घर भई देशका विभिन्न ठाउँमा रहेका स्थानीयवासीले यसमा सहकार्य गर्नुभयो । हामीले सरकारीस्तरको बजेटको मुख ताक्नुभन्दा स्थानीयवासीबाटै चन्दा सङ्कलन अभियान चलाएका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि मन्दिरमा ढुङ्गाको छानो थियो । तामाको छानो छाइएपछि मन्दिर आकर्षक देखिएको छ । ललितपुरबाट कालीगढ ल्याएर तामाको छानो छाइएको हो । तामाको झल्लरमा बुट्टा कुँदिएको छ । ढोका पनि आकर्षक बनाइएको छ ।

क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ वडासम्मको पूजा हुन्छ । पुस र साउन महिनाबाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा वडादसैँ र चैते दसैँमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्छ ।

मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चबली दिँदा इच्छाएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिरमा तीन, चार सय वर्ष पुराना घण्टासमेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा दुई हजार चार सय राज्यको पालोमा सुरक्षाका लागि बनाएको गढीसमेत छ । क्यामिन कालिका मन्दिरलाई गोरखा कालिकाको बहिनीसमेत भनिने स्थानीय बताउँछन् ।

एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् ।

कुँवरले भन्नुभयो, “यस ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको महसुस हुँदै आएको छ । हामीले यसको धार्मिक महत्वसहित प्रचारप्रसारमा जोड दिएका छौँ ।” सदरमुकामबाट नजिक रहेकाले पनि यस ठाउँ गन्तव्यस्थलका रुपमा विकास हुनसक्ने उहाँको भनाइ छ ।

मन्दिर परिसरमा गाह्रो लगाई चाइनिज इँटाको टायल लगाउने योजना बनाइएको छ । तर त्यसका लागि आर्थिक अभाव छ । क्यामिन कालिका मन्दिर पूजा तथा संरक्षण समितिका अध्यक्ष इमानसिंह गुरुङले मन्दिरको थप विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

दसैँको घटस्थापनाको दिन पहिला मन्दिरमा पूजा गरेर मात्र घरघरमा जमरा राख्ने प्रचलन रहेको छ । उक्त मन्दिर चौबिसे राज्यको पालामा स्थापना भएको धार्मिक मान्यता छ । यहाँ विसं १७०० सालको घण्टी भेटिएको स्थानीय बताउँछन् । मन्दिरमा एक ब्राह्मण पुजारी छन् ।

क्यामिन कालिका मन्दिरसमेत समेटिएको क्यासमिरी पदमार्गलाई प्रवद्र्धनका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरिसकेको छ ।

तत्कालीन जिल्ला विकास समिति तनहुँले यो मार्गको अध्ययन गरेको थियो । त्यसबेला पदमार्गको अध्ययन गरेर नक्सा तयार पारिएको थियो । व्यास नगरपालिका–७ सादीबैगैँचाबाट सुरु हुने २८ किमी दूरीको पदमार्ग लमजुङको कुन्छासम्म पुगेर टुङ्गिन्छ ।

पर्यटनविद् हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरैटाकुरोमा पदयात्रा गर्न पाइन्छ । क्यासमिरी जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिका भित्र पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button