प्रवासफिचर न्यूज

राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो– प्रधानमन्त्री

आफ्नो शासनकालको १८ महिनामात्र पूरा गर्नुभएका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मङ्गलबार बताउनुभएको छ ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित हुनुहुन्छ भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हट्नुभएको छ तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नुहुनेछ ।

राजा चार्ल्ससँग टाढा रहेका छोरा प्रिन्स ह्यारीले आफूले बुबासँग कुराकानी गरेको र चाँडै आएर भेट्ने बताउनुभएपछि उहाँको स्वास्थ्यलाभको कामनासहितका सन्देश प्रशस्त आएका छन् ।

“धन्यवाद, क्यान्सर चाँडै पत्ता लागेको छ र उहाँ पूर्णरूपमा निको हुनुहोस् र उहाँलाई आवश्यक उपचार प्राप्त होस् भन्ने सबैले चाहेका छन्”, प्रधानमन्त्री सुनकले बिबिसीलाई भन्नुभयो, “मलाई के लागेको छ भने हामी यस्तै अपेक्षा गरिरहेका छौँ र प्रार्थना गरिरहेका छौँ, म निश्चितरूपमा उहाँसँग नियमित सम्पर्कमा छु र सामान्यरूपमा उहाँसँग कुराकानी गरिरहने छु ।”

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्युपछि राजा बन्नुभएका चार्ल्स पोलो र स्किइङको चोटहरूलाई छाडेर सामान्यरूपमा राम्रो स्वास्थ्य अवस्थामा रहनुभएको बताइएको छ ।

“यो सुनिरहेका मुलुकभरका परिवारहरूलाई उही कुराहरूले छोएको छ र उनीहरूलाई यसले सबैको अर्थ राख्छ भन्ने थाहा छ”, प्रधानमन्त्री सुनकले भन्नुभयो, “त्यसो भए उहाँका लागि तयार छौँ र हामी जतिसक्दो चाँडो यसबाट पार पाउनेछौँ भन्ने अपेक्षा छ ।”

चिकित्सकहरूले राजा चार्ल्सलाई कुनै पनि कार्यक्रम स्थगित गर्न सल्लाह दिएको तर उहाँले सधैँको जस्तो राज्यको व्यापार र आधिकारिक कागजी काम जारी राख्नुहुने प्यालेसले जनाएको छ । प्यालेसले भनेको छ, “राजा पूर्णरूपमा सकारात्मक हुनुहुन्छ र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक हुनुहुन्छ ।”

यसैबीच आफ्ना पितालाई क्यान्सर भएको पत्ता लागेपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मङ्गलबार लन्डन पुग्नुभएको छ । आफ्नी अभिनेत्री पत्नी मेघन र छोराछोरीसँग क्यालिफोर्निया बस्दै आउनुभएका ह्यारी शाही जीवन त्यागेदेखि आफ्नो सर्वाधिक बिक्री हुने पुस्तक ‘स्पेयर’ मा राजपरिवारमाथि आक्षेप लगाएपछि पारिवारिक द्वन्द्वमा हुनुहुन्छ ।

द टेलिग्राफ र द सन अखबारले ह्यारी लसएन्जलसबाट रातभरको उडानमा हिथ्रो विमानस्थल पुग्नुभएको बताएका छन् । कथितरूपमा बकिङ्घम प्यालेसले चार्ल्सलाई क्यान्सर भएको सार्वजनिक गरेपछि २४ घन्टाभन्दा पनि कम समयमा ह्यारीको कारलाई प्रहरीको दुई कारका साथ विमानस्थलबाट बाहिर जाँदै गरेको देखिएको थियो ।
–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button